दफा १५
थुनुवा वा कैदीलाई अड्डा वा अदालतमा हाजिर गराउनेः

(१) कुनै मुद्दा मामिलामाप्रमाण वा कुनै आवश्यक कुरा बुझ्नको लागि कुनै अड्डा वा अदालतले कुनै थुनुवा वा कैदीलाई हाजिर गराउन आवश्यक भएमा देहाय बमोजिम गर्नुपर्छ ः–

(क) अदालतले भए सो कैदी वा थुनुवा थुनिए वा कैद परेको कारागारकार्यालयलाई सोझै पूर्जी गरी पठाउने,

(ख) अरू अड्डाले भए सो थुनुवा वा कैदी जुन अड्डा वा अदालत मार्फत थुनिए वा कैद परेको हो सो अड्डा वा अदालतलाई पूर्जी लेखी पठाउने ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको पूर्जी आएपछि सो थुनुवा वा कैदीलाई थुन्ने वा कैद ठेक्ने अड्डा वा अदालतले पनि सो पूर्जी बमोजिम त्यस्तो थुनुवा वा कैदीलाई पूर्जी लेखी पठाउने अड्डामा हाजिर गराउनको निमित्त सम्बन्धित कारागार कार्यालयलाई पूर्जी लेखी पठाई दिनुपर्छ ।

(३) उपदफा (१) को खण्ड (क) बमोजिम वा उपदफा (२) बमोजिमको पूर्जी पाएपछि जेलरले पनि त्यस्तो थुनुवा वा कैदीलाई तोकिएबमोजिम हाजिर गराउनु पर्छ ।